एमालेको मुख्यालय वैशाख १ गतेबाट तुल्सीलाल स्मृति प्रतिष्ठानमा

२०७८ चैत्र २१ गते, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।

कार्यालय सचिव डा. भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए । कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पूरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ । अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् । पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहनेछन् । पार्टी केन्द्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ । तीन महिना लगाएर प्रि इञ्जिनियर्ड पोर्टल संरचना विधिअनुसार उक्त ५०० क्षमताको हल भवनको पश्चिमतिर बनाउन थालिएको विभागका सदस्य पहाडीले बताए ।

यस्तै, मदनभण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि नयाँ कार्यालयमा बनाइएको छ । एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षका लागि भवन भाडामा लिएको छ ।

यसैगरी, नयाँ सर्न थालिएको भवनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ । पार्टी अध्यक्ष र महासचिवको कक्ष पहिलो तलामा रहनेछ भने दोस्रो तलामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवको कार्यकक्ष रहनेछ ।

245 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal