मन्त्री आलेको प्रष्टीकरणः कोरोनाले थलिएको पर्यटन उकास्न सलमानको कन्सर्ट

२०७८ चैत्र २१ गते, सोमबार

काठमाडौं । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा बलिउड अभिनेता सलमान खानले सांगीतिक प्रस्तुति दिने तयारी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत सहयोगमा इभेन्ट म्यानेजमेन्ट कम्पनी ओडीसीले द ब्याङ रिलोडेड टुर गर्न लागेको हो । मन्त्री प्रेमबहादुर आलेले सलमानसँग भिडियो संवाद गर्दै नेपालमा स्वागत गर्न आफू अधैर्य रहेको बताइसकेका छन् ।

मन्त्री आले र सलमानबीचको उक्त संवादपछि सामाजिक सञ्जालमा कतिपयले आलोचना पनि गरिरहेका छन् । नेपाली कलाकार र फिल्मलाई बेवास्ता गरेर सरकारले सलमानलाई ल्याउन लागेको भन्दै केही सेलिब्रिटी असन्तुष्ट थिए भने केही राजनीतिक समूहले त्यसको विरोध गरेका थिए ।

सलमान र कार्यक्रमलाई नै लिएर विरोध हुन थालेपछि मन्त्री आलेले मुख खोलेका छन् । कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई उकास्न सलमानको कन्सर्ट गर्न लागिएको उनले प्रष्टीकरण दिएका छन् ।

सगरमाथा आरोहण गर्न लागेका गायक राजु लामा र अभिनेत्री दीया पुनलाई शुभकामना दिन सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले भने, ‘कसैले चिन्ता नलिए हुन्छ । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई सघाउन सलमानलाई नेपाल ल्याउन लागिएको हो र यसमा सरकारले सहयोग मात्र गरेको हो ।’

उनले कन्सर्टलाई लिएर भइरहेका अन्य आलोचना तर्कसंगत नभएको समेत बताए । सामाजिक सञ्जालमा सलमानसँगको संवादलाई लिएर तीव्र आलोचना भएपछि मन्त्री आलेले प्रष्टीकरण दिएका हुन् । उनले नेपाली कलाकारलाई पनि सघाउन सरकार तयार रहेको बताए । ‘नेपाली कलाकारले पनि आफूलाई चाहिएको कुरा भन्नुपर्छ । सरकार सघाउन तयार छ,’ उनले भने ।

267 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal