२ हजार बढी कार्यकर्ता भित्राउन एमाले ओली बझाङ जाँदै

२०७८ चैत्र २६ गते, शनिबार

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ जान लागेका हुन् ।

उक्त दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘२ हजार बढी कार्यकर्ता एमालेमा भित्राउने गरी एमाले अध्यक्ष ओली बझाङ आउन लाग्नु भएको हो’ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह– इन्चार्ज ऐन महरले भने, ‘सुदूरपश्चिममा यति धेरै सङ्ख्यामा पार्टी प्रवेशको कार्यक्रम पहिलो पटक आयोजना गर्न लागिएको हो ।’

बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । उक्त कार्यक्रममा ५ सय स्वयंसेवक खटाउने र ५० हजार जनता उतार्ने प्रयासमा सबै लागिरहेका उनले बताए ।

महरकै पहलमा एमाले अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेका हुन् । प्रचारप्रसारका लागि नेकपा एमाले जिल्ला कमिटी सचिव आनन्दलाल विकको संयोजकत्वमा १३ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय झाँकी प्रर्दशन र देउडा प्रतियोगिता समेत आयोजना हुने बताइएको छ ।

242 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal