आफू मन्त्रालयमा आए देखि धेरै सुधार भएको मन्त्री आलेको दाबि

२०७८ चैत्र २६ गते, शनिबार

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको बताउनुभएको छ ।

बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै काम भइरहेको बताउनुभएको हो । उहाँले आफ्नो मन्त्रालयमा थुप्रै फोहरका डङ्गुरहरू रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताउनुभयो ।

मन्त्री आलेले भन्नुभयो, ‘विगतदेखि थुप्रै फोहोरका डङ्गुरहरू मन्त्रालयभित्र छन् । चाहे त्यो नारायणहिटीको कुरा गर्नुस्, चाहे पशुपति धर्मशालाको कुरा गर्नुस्, चाहे चार्टर्ड फ्लाइटमा भएका भ्रष्टाचारका कुरा गर्नुस् । म राजनीतिमा प्रवेश गरिसकेपछि राजनीतिलाई पेसा कहिल्यै बनाइनँ । राजनीतिमा सेवाको भावले प्रवेश गरेको छु । जबसम्म म कुर्सीमा बस्छु, तीन करोड नेपाली जनताको शिर ननिहुरिने गरी काम गर्छु । मलाई कुनै चिजको लोभ छैन । एअरपोर्टमा ट्याक्सीवालाको लुटपाट हुन्थ्यो, श्रमिकहरू वैदेशिक रोजगारमा जाँदा म्यानपावरदेखि विभिन्न ठाउँमा ठगिने गर्थे, ती सबै समस्या समाधान भएको छ ।’

मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक–हितको पक्षमा आफू सधैँ उभिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

264 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal