कपिलवस्तु सहित पश्चिम तराईका जिल्लामा आउँदो ३ दिन तातो हावा चल्ने

२०७९ बैशाख ४ गते, आईतवार

काठमाण्डौ । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आउँदो तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककमा रहेको क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ । यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए ।

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार तीन दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने बताउनुभयो । उहाँले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सचेत रहन आवश्यक रहेको बताउनुभयो । जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने धेरै सम्भावना रहेको बताउनुभयो ।

जलवायुविज्ञ डा उप्रेतीले नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनुभयो । उहाँले एक सय २२ वर्षपछि गएको मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनुभयो । उहाँले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्यधिक तापक्रम वृद्धि हुँदै गएको तथ्याङ्क निकालेको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले भन्नुभयो, ‘यो वर्षमा चैतको सुरुदेखि नै वा फागुनको अन्तिम हप्तादेखि नै तापक्रम बढेको अवस्था छ । वैशाखको ५ गतेदेखि फेरि लगातार तीन दिन पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुँदैछ । त्यो तापक्रम ४० डिग्री वा त्योभन्दा माथि पुग्ने अवस्था छ । अब हिट वेब सुरु हुँदैछ भन्दा फरक नपर्ला । ४० डिग्री वा त्यो भन्दामाथि तापक्रम, दुई वा त्योभन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्यधिक गर्मी’ को अवस्था भनिन्छ । भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको छ । चेतावनी दिइसकेको छ । हिजोसम्मको जल तथा मौसम विज्ञान विभाग नेपालको रेकर्ड हेर्दा तीन वटा स्टेशनमा ४० डिग्रीभन्दा माथि तापक्रम रेकर्ड छ । ३५ देखि ४० डिग्री सेल्सियस भएको स्टेशनको सङ्ख्या २७ पुगेको छ ।’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले औसत पृथ्वीको तापक्रम १ दशमलव १ डिग्री रहेको र भारतले जारी गरेको एक सय २२ वर्षको तथ्याङ्कमा १ दशमलव ८६ डिग्री सेल्सियसले तापक्रम औसतमा बढेको देखिएको बताउनुभयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनुभयो ।

256 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal