भारतसँग जोडिएको सीमाना मंगलबार रातिदेखि बन्द हुने

२०७९ बैशाख २६ गते, सोमबार

जनकपुरधाम । स्थानीय तहको निर्वाचनका लागि भारतसँग जोडिएको सीमानाका मंगलबार रातिदेखि बन्द हुने भएको छ । निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मंगलबार राति १२ बजेदेखि भारतसँग जोडिएको मधेस प्रदेशको आठ वटै जिल्लाको सीमानाका बन्द हुन लागेको छ ।

निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि सीमानाकाहरु बन्द गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । बैशाख ३० मा हुने मतदानका लागि मंगलबार राति १२ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि सीमानाका बन्द हुने महोत्तरीका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

यस्तै निर्वाचन सुरक्षा निर्देशिका २०७८ को दफा ६ को खण्ड ९थ० बमोजिम महोत्तरीमा बुधवार राति १२ बजेदेखि निर्वाचनको अन्तिम मतपरिणाम नआउनजेलसम्मका लागि मादक पदार्थ विक्री वितरण तथा सेवनमा पूर्ण रुपले रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दाहालले सूचना जारी गर्दै जानकारी दिएका हुन् ।

यसको उलंघन गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले भारतसँग जोडिएको सप्तरीको सीमानाका बैशाख २७ गते राति १२ बजेदेखि बैशाख ३० गते राति १२ बजेसम्म बन्द रहने जानकारी दिए । उनले यसका साथै मंगलबार राति १२ बजे देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्मका लागि जिल्लामा मदिराको विक्री वितरण तथा सेवनमा पूर्ण रुपमा रोक लगाइएको बताए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले केही दिन अघि नै नेपाल र भारतका सुरक्षा निकायकाबीच छलफल भएर निर्वाचनको ७२ घण्टा अघिदेखि भारतसँग जोडिएको सर्लाहीको सीमानाका बन्द गर्ने सहमति भएको बताए ।

मधेस प्रदेशको आठवटै जिल्ला र भारतसँग खुल्ला सीमानाका रहेकाले सुरक्षालाई मध्यनजर गर्दै निर्वाचन भन्दा ७२ घण्टा अघि देखि सीमानाका बन्द हुन लागेको हो ।

यस्तै सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निर्वाचनको दिन सवारी साधन चलाउनमा रोक लगाएको छ । मतदानको दिन बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म एम्बुलेन्स, दम्कल, दुरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अतिआवश्यक सेवाका सवारी साधन तथा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त बाहेकका सार्वजनिक तथा निजी गारी बन्द रहने जनाइएको छ ।

137 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal