आइसिसी विश्वकप लिग–२ मा नेपालाले आज ओमानसँग खेल्दै

अमेरिका । अमेरिका भ्रमणमा रहेको नेपालले आइसिसी त्रिकोणात्मक ओडिआई सिरिजमा आज बलियो प्रतिद्वन्दी ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ९: १५ मा ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा जित र १२ मा हारका साथ शीर्षस्थानमा छ । नेपाललाई शीर्ष तीन स्थानमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्न जित्नै पर्ने दबाब छ ।
ओमान अमेरिकासँग पहिलो खेलमा १ सय १४ रनले पराजित भएको थियो ।
नेपालका दुबै पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेल गुमाउने छन् । त्यसैले नेपालको ब्याटिङ केहि कमजोर बन्ने देखिन्छ । नेपालले आज ओपनरमा सुनिल धमला र सुवास खकुरेललाई मैदान उतार्ने छ ।
सन् २०१७ पछि नेपाली टोलीमा फर्किएका धमला ओडिआई डेब्यूको पर्खाईमा हुनेछन् । तेस्रो नम्बरमा देव खनाल, चौथो नम्बरमा दीपेन्द्रसिंह ऐरी र पाँचौं नम्बरमा रोहित पौडेल हुनेछन् । अभ्यास खेलम ह्युस्टन हरिकेन्सविरुद्ध शतकीय इनिङ खेलेका रोहित उच्च लयमा छन् ।
उच्च लयमा रहेका दीपेन्द्र र रोहितको उत्कृष्ट प्रदर्शन विना नेपाललाई जितको लागि कठिन पर्ने देखिन्छ । दीपेन्द्र र रोहित ब्याटिङका खम्बा हुन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको प्रदर्शन अझ महत्वपूर्ण हुनेछ । स्पिनर तथा कप्तान सन्दीप लामिछाने प्रमुख हतियार हुन् । करण विष्फोटक ब्याटिङको क्षमता राख्ने गर्दछन् ।
यता ओमानको शीर्षक्रम ब्याटिङमा बढी निर्भर छ । ओपनर जतिन्दर सिंहको विकेट धेरै महत्वपूर्ण हुनेछ । ओमानलाई अमेरिकाले ३ सय २३ रन प्रहार गरेको थियो । बलिङ आक्रामण बिलाल खानमा बढी निर्भर छ । जतिन्दर सिंह, कश्याप प्रजापति, शोएब खान र अयान खान उसका प्रमुख ब्याटर हुन् ।
कप्तान जिशान मकसुद पनि राम्रो ब्याटिङको क्षमता राख्दै आएका छन् । विलाल खानको बल ओपनरले सामना गर्दै विकेट बचाउन सके नेपालले विशाल योगफल बनाउन सक्छ । स्पिनर खबर अली भने लगातार घातक बन्दै आएका छन् । नेपाल र ओमानबीच ओडिआईमा चार खेल भएको छ । जसमा ओमान तीन र नेपाल एक खेलमा विजयी भएका छन् ।
नेपालको टोली:
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल(उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।
अमेरिकामा नेपालको खेल तालिका –
जेठ २६ (जुन ९) – नेपालविरुद्ध ओमान
जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान
असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल