टि२० विश्वकप छनोट: नेपाल ४ विकेटले विजयी

२०७९ जेष्ठ २३ गते, सोमबार

काठमाडौं । नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा भुटानमाथि ४ विकेटको जित हात पारेको छ । जितको लागि ६७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालकी सनु राजवंशी ३२ बलमा ५ चौकासहित सर्वाधिक ३० रनमा अविजित रहिन् । साना प्रविनले १५ बलमा २ चौकासहित १२ रनमा आउट भइन् । किरण कुमारी कुँवर २, स्नेहा महरा डक, आश्मा पुलामी मगर ३ र कृतिका मरासिनी २ रनमा आउट भइन् । सृष्टि जैशी ८ रनमा आउट हुँदा एलिसा कुमारी यादव २ रनमा अविजित रहिन् ।

भुटानकी सांगे ए वाङ्मोले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिइन् । अञ्जुली घले र सोनमले १–१ विकेट लिए । त्यसअघि मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रन बनाएको थियो । भुटानकी कप्तान न्वागन चोडेन र सांगे ए वाङ्मोले सर्वाधिक ११–११ रन बनाए ।

भुटानलाई ओपनर सोनम र चोडेनले ४.१ ओभरमा २० रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । स्पिनर मनिषा कुमारी उपाध्यले चोडेनलाई बोल्ड गरेपछि भुटानले लगातार विकेट गुमाएको थियो । उनले १४ बलमा २ चौका प्रहार गरिन् । सोनम मनिषाको बलमा बोल्ड हुनुअघि २६ बलमा ५ रन जोडिन् ।

चाडो ओम ६, एभा सोमसेल योङजम ७, नोर्बु २ र पेमा याङचाङ ९ रनमा आउट भइन् । भुटानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी मनिषा कुमारी उपाध्यले ४ ओभरमा २ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । अनु कडायतले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । स्नेहा महराले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो । जसक्रममा नेपाल ८ रनमा अल आउट भएको थियो । नेपालले आफ्नो चौथो खेलमा मंगलबार थाईल्यान्डसँग खेल्नेछ ।

नेपालले थाईल्यान्डलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ । त्यतिमात्र होईन युएईले कम्तिमा एक खेलमा फराकिलो अन्तरले हार्नुपर्छ । युएईसँगको हारले नेपालको विश्वकप सपना कठिन बनेको छ । ६ टोली सहभागी प्रतियोगिता शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू१९ महिला टि२० विश्वकप खेल्न पाउनेछ ।

प्रतियोगितामा समान ३ खेलमा अपराजितका साथ नेटरनरेटका कारण युएई शीर्ष र थाईल्यान्ड दोस्रो स्थानमा छन् । नेपाल ३ खेलमा २ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा छ । मलेसिया चौथो, कतार पाँचौं र भुटान छैटौं स्थानमा छन् ।

157 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal