गृहमा गोप्य प्रतिवेदन राख्ने कर्मचारीले भने “सचिव र सहसचिवले मागिरहन्थे, कसले फेर्‍यो थाहै भएन”

२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौं । गृह मन्त्रालयमा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको गोप्य प्रतिवेदन राख्ने कर्मचारीले आफूलाई तत्कालीन शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, गृहसचिव टेकनारायण पाण्डे लगायत पटकपटक प्रतिवेदन माग्ने गरेको बयान दिएका छन् ।

मन्त्रालयको शरणार्थी मामिला समन्वय सम्बन्धी राष्ट्रिय इकाइका शाखा अधिकृत यन्तोष प्रधानले त्यसबेला स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका प्रमुख सागरमणि पाठक, उपसचिव शेखर पौडेल लगायतले पनि प्रतिवेदन माग्ने गरेको बताएका छन् ।

‘सो प्रतिवेदन मैले आफैंले राखेको अवस्थामा कहिले कसरी फेरियो वा नक्कली प्रतिवेदन कहिले कसरी कसले तयार गर्‍यो र राख्यो भन्ने थाहा भएन’, सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा समावेश प्रधानको बयानमा भनिएको छ, ‘तर, सो प्रतिवेदनका सम्बन्धमा तत्कालीन सचिव टेकनारायण पाण्डेको सबैभन्दा धेरै र अस्वभाविक चासो थियो ।’

प्रधानका अनुसार मन्त्रिपरिषदबाट पास भएर आएको सक्कल प्रतिवेदनसहित फाइल उनलाई राख्न दिइएको थियो । ‘मन्त्रिपरिषदबाट फिर्ता भएर आएको केही दिनपछि उनले सो प्रतिवेदन माग गरी ४/५ दिनसम्म लगातार आफैंसँग राखेका कारण उनकै निर्देशन वा संलग्नताबाट प्रतिवेदन फेरबदल भएको तथा नक्कली प्रतिवेदन म कार्यरत शाखामा राखेको भन्ने कुरामा विश्वास लाग्छ’, उनले भनेका छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहले रकम लिएका ८७५ जनाको नाम पन्थी कार्यदलको प्रतिवेदनमा समावेश नभएपछि गिरोहले सच्याउन अर्को उपसमिति गठन गरेको थियो । तर, उपसमितिले पनि काम नगरेपछि गिरोहले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नै प्रयोग गरेर प्रतिवेदन कीर्ते गराएका थिए ।

40 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal