मौसमलाई चुनौती दिने हुँदा बढी दुर्घटना

२०८० असार २७ गते, बुधबार

काठमाडौं । हवाई सुरक्षाका दृष्टिले नेपाली आकाश हवाई जहाजलाई मात्रै होइन, हेलिकप्टरहरुका लागि पनि अति नै असुरक्षित रहेको देखिएको छ । मंगलबार मनाङ एयरको एन–एएमभीको दुर्घटना नेपालको इतिहास ४२ औं हेलिकप्टर दुर्घटना हो ।

सोलुखुम्बुबाट काठमाडौं आउने रुटको मौसम पनि सफा छ भन्ने जानकारीका आधारमा उडेको हेलिकप्टर बीच आकाशमा कसरी खस्यो, अहिलेसम्म पत्ता लागेको छैन । तर, अन्तर्राष्ट्रिय हवाइ क्षेत्रमा सुरक्षित मानिने हेलिकप्टरहरु नेपालमा चाहिँ किन दुर्घटनामा परिरन्छन् ? यो प्रश्न भने गम्भीर छ ।

सोलुखुम्बु, लुक्लानजिकै रहेको सुर्केबाट बिहान १० बजेर ५ बजे काठमाडौंका लागि उडेको यो हेलिकप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो, तर गरेन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार टावरसँग सम्पर्क टुटुेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्दार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलततर्फ खटाएको थियो ।

स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो । टोलीले सोलुखुम्बुको लामजुरा पासनजिकै हेलिकप्टरलाई दुर्घटनाग्रस्त अवस्थामा भेटाएको थियो ।

मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै विदेशी पर्यटक हुन् । उनीहरु मेक्सिकोका नागरिक रहेको महाप्रबन्धक तिवारीले जानकारी दिए । उनीहरु सोमबार लुक्ला पुगेका थिए । सोमबार प्रतिकुल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो । हेलिकप्टर ५५ वर्षीय अनुभवी पाइलट सीबी गुरुङले उडाएका थिए । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार उनीसँग ७ हजार घण्टा उडानको अनुभव थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आकाश सुरक्षित रहेको दाबी गरिरहँदा नेपाली आकाशमा एकपछि अर्को हवाई दुर्घटना दोहोरिएका छन् । सन् २०२३ को सात महिनामा मात्रै भएको चौथो हेलिकप्टर दुर्घटना हो । समग्र हवाई दुर्घटनामा यस वर्षको पाँचौं दुर्घटना हो । १५ जनवरी २०२३ (१ माघ २०७९) मा पोखरामा भएको यती एयरको दुर्घटनायता नेपाली आकाशमा चार वटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन् । यो वर्ष भएका हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

29 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal