फूल बेचेर ९ लाख आम्दानी

२०८० कार्तिक २२ गते, बुधबार

सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् ।

पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ ।राहदानी बनाएर विदेश जान लागेका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री लगाएर आम्दानी गरिरहेका छन् ।


उनी भन्छन्, ‘नजिकिएको तिहारमा मात्रै सयपत्रीको एक हजार माला बेच्ने तयारी छ, यसअघि सयपत्रीको फूल बेचेर रु नौ लाख आम्दानी लिइसकेको छु ।’परम्परागत विभिन्न बालीनाली लगाउँदा आठ हजार कमाई नहुने आठ रोपनीमा उनले व्यावसायिक सयपत्री खेती गरेका एक वर्ष बितिसकेको छ ।


उनलाई आजभोलि पैसा कमाउन विदेश जाने सोच आउँदैन । सयपत्री फूलको मगमगाउँदो सुगन्धले मनमा आनन्द र राम्रो आम्दानीसमेत आर्जन भएको दर्नाल बताउँछन्।

किसान दर्नालले तीन महिनाअघि सयपत्रीको बीउ बेर्ना बनाएर रोपेको थियो । बेर्ना रोप्दा, बिरुवाको जलमल तथा आवश्यक रेखदेख गर्दाका दुःख यतिबेला खुसीमा बदलिएका छन् । थप जमिनमा फूलखेती विस्तार गर्ने उनमा उत्साह उब्जिएको छ ।

वर्षमा तीन पटकसम्म सयपत्रीको फूल र यसको माला बेच्ने गरेको उनी सुनाउँछन् । यपत्री फूल स्वागतदेखि बिदाइसम्म र दैनिक पूजापाठका लागि आवश्यक पर्ने भएकाले वर्षैभरि बिक्री हुन्छ । तिहारमा यसको माग र मूल्य बढी हुन्छ । दर्नाले उत्पादन गरेको फूलमाला सिन्धुलीको सिन्धुलीमाढी, रामेछापको मन्थली र काठमाडौंको पशुपतिनाथ क्षेत्रसम्म पुग्ने गर्दछ ।

सुनकोशीका युवा दर्नालले जसरी ठूलो क्षेत्रमा व्यावसायिक फूलखेती गर्ने रहर कमलामाई नगरपालिका(१ डाँडीगाउँकी रिमा अधिकारीलाई पनि जागेको छ । फूलखेती, यसको बजार, सम्भावना, अवसर र चुनौतीका बारेमा नबुझिकनै व्यावसायिक फूलखेती सुरु गरेको बताउने उनी गर्दै सिक्दै, सच्याउँदै सच्चिदै, बुझ्दै बुझाउँदै अगाडि बढ्ने सोचमा छन् । अहिले एक कठ्ठामा फूलखेती सुरु गरे पनि विस्तारै बढाउँदै जाने उनको योजना छ ।

अहिले उनको फूलबारीमा सयपत्रीका फक्रिएका फूलैफूल छन् । अहिलेसम्म कसैले माग भने गरेका छैनन् । तैपनि नबिक्ने चिन्ता उनलाई छैन । तिहारसम्ममा घरबारीबाटै फूल बिक्री हुने उनको विश्वास छ।

यता गोलञ्जोर गाउँपालिका -२ बितिजोर हमालडिहीका यम हमालको तीन रोपनीमा एउटै उचाइमा एकैनास भएर सयपत्री फुलेका छन् ।

आकर्षक फूलबारीमा फोटो खिच्ने, टिकटक बनाउने र फूलबारी हेर्न आउनेको सङ्ख्या बाक्लिँदो छ । उनका अनुसार सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, फूललाई फुलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ ।

सयपत्री फूलखेती गरेका हमाल भन्छन्, ‘राम्रो, सुन्दर फूल फुलाउन बिरुवा स्वस्थ हुनुपर्छ । बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।’

42 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal