सिद्धार्थ क्याम्पसको १३ औं वार्षिक क्याम्पस सभा सम्पन्न

२०८० पुष १३ गते, शुक्रबार

कपिलवस्तु । सिद्धार्थ क्याम्पसको १३ औं वार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । विद्यार्थीको अभावले क्याम्पस धमाधम बन्द हुने अवस्थामा नयाँ क्याम्पस स्थापनाले मात्र शिक्षा क्षेत्र उजागर हुननसक्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । नयाँ क्याम्पस स्थापना गर्नुभन्दा भएका क्याम्पसलाई व्यवस्थापन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

विहिबार सिद्धार्थ क्याम्पस बुङ्चिको १३ औं वार्षिक क्याम्पस सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । क्याम्पसले हरेक वर्ष विभिन्न तहमा उत्कृष्ट नतिजा ल्याइरहेको भन्दै यस क्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै पछिल्लो समय ११÷१२ पास गरिसकेपछि धेरै विद्यार्थीहरुको दिमागमा विदेश मात्र हुनेभएकाले उक्त सोचाइ लाई विद्यार्थीहरुको दिमाग बाटै हटाउने गरि सरकारले शिक्षामा सुधार गर्न अवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा रास्ट्रिय सभा सदस्य बिमला घिमिरेले विद्यालयको नाममा जग्गा नभएकै कारण माथि बाट आउने अनुदानहरु रोकिनु दुःखद रहेको भन्दै क्याम्पसको नाममा जग्गा पास गर्न अब ढिला गर्न नहुने बताउनुभयो । आफुहरुले क्याम्पसको प्रवदर््धनका लागि सरकार सङ्ग माग गरिरहेको भएपनि खासै सुनुवाई हुन नसकेको भन्दै गुनासो समेत गर्नुभयो ।

त्यस्तै लुम्बिनी प्रदेश सांसद गिरधारिलाल न्यौपानेले सिद्धार्थ क्याम्पस सहित समग्र जिल्लामा रहेका शैक्षिक संस्थाहरुको गुणस्तर वृद्धिको लागि प्रदेश र केन्द्र सरकार सङ्ग जोडदार माग गर्ने बताउनुभयो । यस क्याम्पसले विभिन्न समयमा देशभर बाटै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको भन्दै त्यसलाई निरन्तरता दिन आवस्यक रहेको बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले क्याम्पसको गुणस्तर वृद्धिको लागि सबै पक्ष मिल्नुको विकल्प नरहेको बताउनुभयो । आफु पनि सिद्धार्थ क्याम्पसका स्थापनामा सक्रिय रुपमा लागेको स्मरण गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सधै सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले विद्यार्थीलाई भर्ना भएको तह पुरा गर्दा सम्म टिकाउन अहिले निक्कै चुनौती रहेको बताउनुभयो । उक्त समस्यालाई समाधान गर्न सर्वपक्षीय छलफल आवस्यक रहेको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रादन गर्न सकेमात्र शैक्षिक संस्थाको प्रवर्द्धन हुने भएकाले त्यस तर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै बाणगङ्गा नगर उपप्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरुले बिचैमा विद्यालय छाड्ने समस्या समाधानमा नगरपालिकाले अब विशेष कार्यक्रम तथा योजनाहरु ल्याउने बतानुभयो । देशभरकै प्रमुख समस्याको रुपमा रहेको यो समस्यालाई समाधान गर्न शिक्षा सङ्ग सम्बन्धीत संघसंस्था, शिक्षक, विद्यार्थी, अभिभावक र तिनै तहकार सरकार जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुलाई नेपालमै स्वरोजगार बनाउन प्राविधिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

वार्षिक प्रगति प्रतिवेदन राख्दै क्याम्पस प्रमुख बेदराम अर्यालले २०४८ फाल्गुन १ गते स्थापना भएको क्याम्पसले कपिलवस्तुका मात्र नभएर छिमेकी जिल्लाहरुका विद्यार्थीहरुलाइ समेत शिक्षाको अवसर दिएको बताउनुभयो । त्यस्तै उहाँले क्याम्पसका भावी योजना, सञ्चालनमा आएका चुनौती र सम्भावनाको बारेमा समेत प्रस्ट पार्नुभएको थियो ।

त्यस्तै आन्तरिक लेखापरिक्षण प्रतिवेदन लेखा समिती संयोजक गणेश बहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बिप्लवका प्रतिनिधि, क्याम्पसका पुर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक झबिलाल पोख्रेल, पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पौडेल, मोहन ज्ञवाली, पुर्व विद्यार्थी समाजका अध्यक्ष तथा क्याम्पसका प्राध्यापक गोबिन्द पोख्रेल लगायतले समग्र सिद्धार्थ क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिमा सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

त्यस्तै स्ववियु सभापति निलकमल थारुले पुस्तकालयमा पुस्तकको समस्या लगायत समग्र विद्यार्थीहरुका समस्याहरुको समाधान तर्फ ध्यान दिन जोडदार माग गर्नुभयो ।

कार्यक्रममा पुर्व क्याम्पस सञ्चालक समितीका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएको थियो ।

सञ्चालक समिति उपाध्यक्ष रवि बहादुर काफ्लेको स्वागत तथा सहायक क्याम्पस प्रमुख गोबिन्द प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

35 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal