भिसा सकिएर नेपालमा अवैधरूपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिक पक्राउ

२०८० चैत्र २६ गते, सोमबार

काठमाण्डाै । भिसा सकिएर नेपालमा अवैधरूपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि अवैधरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजी गर्दा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका थिए ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमाण्डौको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो । एसपी रेग्मीले पक्राउ परेकाहरूलाई अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाएको बताउनुभयो ।

यसअघि पनि शङ्कास्पद गतिविधि गरिरहेको पाएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो । पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरूपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाएको प्रहरीले जनाएको छ ।

21 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal