अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैनः देउवा

२०७७ पुष २६ गते, आईतवार

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए ।

काँग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उहाँले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो ।

जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उनले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए काँग्रेस चुनावमा जाने सभापति देउवाले बताए । सभापति देउवाले कांग्रेस स्थापना गर्ने चार नेतामध्ये सूर्यप्रसाद उपाध्याय पनि एक भएको उल्लेख गर्दै पार्टीले उनको उच्च कदर गर्ने बताए ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए । कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो । काँग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताए ।
उपाध्यायको कांग्रेसमा ठूलो योगदान भएको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने नेता पौडेलले बताउनुभयो ।
काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले उपाध्यायले पार्टीलाई जीवन्त राख्ने काम गरेको उल्लेख गरे । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपाध्यायको तस्बीर पार्टी कार्यालयमा राख्न तथा पृथ्वीजयन्ती मनाउने निर्णय गर्न सभापति देउवालाई आग्रह गरे ।
कार्यक्रममा पूर्वसांसद दिव्यमणि राजभण्डारी, कांग्रेस नेता लोकेश ढकाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र उपाध्यक्ष डा विमला शाक्यले उपाध्यायको योगदानका बारेमा चर्चा गरेका थिए ।

278 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal