कर्तव्य ज्यान मुद्दाका ४ जना अभियुक्त पक्राउ

२०७८ कार्तिक २९ गते, सोमबार

धादिङ । कर्तव्य ज्यान तथा डाँका मुद्दाका ४ जना अभियुक्तहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धुनिवेशी नगरपालिका १ डाँडागाउँ बस्ने २१ वर्षीय वीर बहादुर तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय सुवाष तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका ७ घर भएका १८ वर्षीया किशोरी र सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका १ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटारमा जेएच ज्वेलर्स पसल संचालन गरी बस्ने २८ वर्षीय रामशरण राज सुनार रहेका छन् ।

धुनिबेशी नगरपालिका १ डाँडागाउँ बस्ने ५९ वर्षीया तिर्थमाया तामाङ आफ्नै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको घटना शंकास्पद देखिएपछि ईलाका प्रहरी कार्यालय खानिखोला र प्रहरी चौकी जिवनपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्नेक्रममा सोही नगरपालिका भञ्ज्याङ पोखरीबाट वीर बहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरेको थियो ।

उनले बुधबार साँझ ती महिलालाई ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेपछि महिलाको सुनसमेत लुटेर फरार भएको खुल्न आएको थियो । साथै उक्त सुन लुकाउने तथा बिक्री गर्ने उनकै भाइ सुवास, १८ वर्षीय किशोरी तथा सुन खरिद गर्ने रामशरणलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले रामशरणको पसलबाट ४७।२ लालको सुनको १ थान बेरूवा रिङ, १८ वर्षीया किशोरीको कोठाबाट ४७.६६ लालको १ थान बेरूवा रिङ, नगद २२ हजार ६ सय रुपैयाँ र घटनास्थलबाट रगत जस्तो पदार्थ लागेको १ थान ढुङगा बरामद गरेको छ ।

उनीहरूउपर जिल्ला अदालत धादिङबाट म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

158 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal