सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन

२०७८ पुष १२ गते, सोमबार

डोटी । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशकाे कैलालीको धनगढी, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर, कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा र डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज साेमवार बसेको क्यानको बैठकले कैलालीकाे धनगढी विमानस्थलका लागि एक अर्ब, अछामको साँफेबगर, कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ विनियाेजन गरेकाे हाे । यस्तै कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख ३२ हजार, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५० लाख ४४ हजार, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ ।

साथै बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्ययनका लागि ५० लाख र डोटी विमानस्थल दुई सय ५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार रुपैयाँ विनियाेजन गरिएकाे छ । 

सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको धनगढीमा रहेको विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनका लागि दुई सय ५० बिघा जमिन अधिग्रहण तथा दुई हजार पाँच सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिक खुसी भएका दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । 

 नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टकाे भनाइ छ । 

219 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal