रेडपाण्डाको संरक्षणका लागि दिगो विकास कार्यक्रम सञ्चालनमा

२०७८ माघ २७ गते, बिहीबार

इलाम । इलामको थुम्केरानी क्षेत्रमा वन विनाश रोकथाम गरी स्थानीयको जिविकोपार्जनमा सघाउ पुर्‍याउने उद्देश्यले सामुदायिक वन दिगो विकास कार्यक्रम सञ्चालन गरिएको छ ।

बढ्दो वन विनाशलाई रोकथाम गर्न इलामको थुम्केरानी क्षेत्रमा रहेको तीनवटा सामुदायिक वनमा कार्यक्रम सञ्चालन गरिएको हो । नामसालिङ सामुदायिक विकास केन्द्रले स्थानीय थुम्केरानी, कागे र प्याङपाताल सामुदायिक वन क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि प्रयास थालेको हो ।

कार्यक्रममार्फत सामुदायिक वनमा विभिन्न रैथाने जातका विरुवा रोपण गरिएको छ । यहाँ लोपोन्मुख वन्यजन्तुको आहारा र वासस्थानका लागि भालुचिण्डे मालिङ्गो गुराँस जातका बिरुवा रोपण गरिएको नामसालिङ सामुदायिक विकास केन्द्र इलामका कार्यकारी अधिकृत हिराकाजी घलेले जानकारी दिनुभयो ।

सामुदायिक वन उपभोक्ता समितिको क्षमता अभिवृद्धि गर्न समुदायमा सचेतना र चरिचरनलाई व्यवस्थापन गरिएको छ । माइजोगमाई गाउँपालिकाले यस क्षेत्रमा खुल्ला चरीचरन बन्द गरेको छ । सामुदायिक वनहरुले नर्सरी स्थापना गरी उत्तीस लगायतका विरुवा उत्पादन गरी रोपण गरेका छन् ।

समुदायमा रहेका घरधुरीमा भान्साको चुल्हो व्यवस्थापनका लागि सुधारिएको चुल्हो बनाइएको छ । सुधारिएको चुल्होमा दाउरा खपत कम भइ वन संरक्षणमा फाइदा पुग्ने र गृहिणीको स्वास्थ्यमा पनि कम हानी पुग्ने बताइएको छ ।

सामुदायिक वनमा अनियन्त्रित दवावलाई घटाई वन्यजन्तुको वासस्थानमा वृद्धि गर्न विश्व वन्यजन्तु कोषमार्फत आर्थिक सहयोग भएको संस्थाले जनाएको छ ।

140 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal