घर-दैलोमै पानी आएपछि स्थानीय पाल्पाका स्थानीय दङ्ग

२०७८ माघ २७ गते, बिहीबार

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिकाले एक घर एक धारा अभियान अन्तिम चरणमा पुर्‍याएको छ । घर दैलोमा खानेपानीको सुविधा पुगेपछि स्थानीयमा खुशियाली छाएको छ ।

अब खानेपानी समस्याका कारण हुँदै आएको बसाइँसराइ रोकिने पुर्वखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र केन्द्र सरकारको समन्वय र सहयोगमा एक घर एक धारा अभियानलाई सफल बनाउन जुटेको हो । पुर्व खोला गाउँपालिकाभित्र ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनु भयो ।

सरकारी निकायसँगै गोर्खा व्यलफेर ट्रस, खानेपानी सरसफाई डिभिजन कार्यालय र फनवोर्डले गाउँपालिकाको एक घर एक धारा अभियानामा सहयोग गर्दै आएका छन् । गाउँपालिकाको वडा नं. १ सिलुवामा १ सय ६०, वडा नं. २ जल्पामा १ सय ४५ र ३ रिङ्नेरहमा ४ वटा खानेपानी योजनाबाट २ सय २ परिवारले घरघरमै खानेपानीको सुविधा पाएका छन् । घरघरमै खानेपानीको सुविधा भएपछि गाउँमा तरकारी खेती बढेको छ । अहिले व्यवसायिक रुपमै फर्म दर्ता गरेर तरकारी खेतीमा लागेको उपभोक्ता टेक बहादुर बार्हघरेले बताउनुभयो ।

अधिकांश मगर बस्ती रहेको वडा नं. ४ देवीनगरमा १ सय ३० घर परिवारले नयाँ धारा जोडेका छन् । घरमै धारा भएपछि सुखको दिन आएको, बालबालिकाले पढ्न समय पाएको, गाउँमै शहर बजार जस्तै सुविधा पाएको कुमारी घर्तिमगरको भनाइ छ ।

गाउँपालिकाले वडा नं. ५ विरकोटमा ९७ र वडा नंं. ६ हेक्लाङ्गमा १ सय ८० घरपरिवारमा नयाँ खानेपानी धारा जडान गरेको छ । घरमै पानी आएपछि सबैभन्दा सुख गाउँका महिला वर्गलाई भएको छ । पानी बोक्ने समयमा अन्य काम गर्न पाएको, सरसफाई बढेको, घरमै साग सब्जीको उत्पादन बढेको कुमारी बार्हघरेको भनाइ छ ।

घण्टौसम्म उकाली ओराली गर्दै रातिमा पानी बोक्नुपर्ने बाध्यता हटेपछि पूर्वखोलावासीले राहत महशुस गरेका छन् । गाउँपालिकाले आउँदो असार मसान्तसम्ममा ९० प्रतिशत घरधुरीमा निजी धारा जडान गर्ने जनाएको छ ।

135 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal