आज राम नवमी, सार्वजनिक बिदा

२०७८ चैत्र २७ गते, आईतवार

काठमाण्डौ । आज राम नवमी हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन भगवान रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक रामको पूजाआराधना गरी मनाइँदैछ ।

आज देशभरका राम मन्दिरमा विशेष पूजापाठ गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास रहिआएको छ ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ । सृष्टिमा दुर्जनको अन्त्य गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुले रामका रुपमा मनुष्यलोकमा जन्म लिएको धार्मिक विश्वास छ ।

राम नवमीका अवसरमा काठमाण्डौको बत्तीसपुतलीमा रहेको राम मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका राम मन्दिरमा मेला लाग्ने गर्छ । आजको दिन जनकपुरको रामजानकी मन्दिरमा विशेष मेला लाग्छ ।

रामजानकी मन्दिरमा भारतबाट समेत ठूलो सङ्ख्या श्रद्धालु भक्तजन आउने गर्छन् । यसैबीच, राम नवमीका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

229 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal