रूपन्देहीका सबै पालिकामा एमालेले लगायो उम्मेदवारको टुंगो

२०७९ बैशाख ११ गते, आईतवार

बुटवल । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका सबै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ।

एमाले केन्द्रिय सचिवालयको बैठकले बुटवल उपमहानगरपालिकाको उम्मेदवारको टुंगो शनिबार लगाईसकेको थियो।

अन्य पालिकामा पार्टीको प्रदेश सचिवालय बैठकले आइतबार केहीबेर अघि मात्रै टुंगो लगाएको हो।

जसअनुसार एमालेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा बावुराम भट्टराई र उपप्रमुखमा सावित्रा अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमाले प्रदेश कमिटीले तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा मोहन चाँपागाई र उपप्रमुखमा जगेश्वरीदेवी चौधरीलाई उठाउने निर्णय गरेको छ। पत्रकारीतामा संलग्न रहदै आएका चाँपागाई प्रदेश कमिटी सदस्यसमेत हुन्।

एमाले रूपन्देहीकी उपाध्यक्ष चौधरी यसअघि पनि नगरपालिकाको उपमेयर थिईन्।
त्यसैगरी सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना रानालाई नै दोहोर्‍याउने एमालेले निर्णय गरेको छ।

देवदह नगरपालिका प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरूङलाई उठाउने एमालेको निर्णय छ। खरेल एमाले प्रदेश कमिटी सदस्य हुन् भने गुरूङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन्।

देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो।

यस्तै सिद्धार्थनगर नगरपालिकामा एमालेबाट नगरप्रमुखमा आकांक्षी बनेका ८ जनालाई पछि पार्दै रामप्रसाद बस्याल नगरप्रमुखका उम्मेदवार बनेका छन्। उप प्रमुखमा उमा अधिकारीलाई उठाउने निर्णय एमालेले गरेको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी रमावती यादवलाई नगर प्रमुखमा र कल्पना हरिजनलाई उपप्रमुखमा उठाउने एमालेको निर्णय छ।

गैंडहवामा सुरेन्द्र पौडेल अध्यक्ष र माधुरी जयशवाल उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्। त्यस्तै कञ्चन गाउँपालिकाको अध्यक्षमा दिनानाथ आचार्य र उपाध्यक्षमा ओमकला राहाडी, ओमसतिया गाउँपालिका अध्यक्षमा मन्जितकुमार यादव र उपाध्यक्षमा निर्मलाकुमारी निषादलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

निषाद यसअघिका गाउँपालिका अध्यक्ष हिरा केवटकी श्रीमती हुन्।

रोहिणी गाउँपालिकामा पनि अहिलेकै अध्यक्ष सनोज कुमार यादवलाई दोहोर्‍याउने एमालेले निर्णय गरेको छ। यादव केही महिना पहिले मात्रै जनता समाजवादी पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए। त्यस्तै उपाध्यक्षमा बसन्ती पाण्डेले उम्मेदवार बन्ने भएकी छन्।

यता सुद्धोधन र सियारी गाउँपालिकामा भने अहिलेकै अध्यक्ष र उपाध्यक्षलाई नै दोहोर्‍याउने गरि एमालेले निर्णय गरेको छ। जसअनुसार अध्यक्षमा किशुनचन्द चौधरी र उपाध्यक्षमा शान्तिदेवी ज्ञवाली उम्मेदवार बन्ने भएका छन्।

त्यस्तै सियारी गाउँपालिकामा अध्यक्षमा अयोध्याय प्रसाद थारू र उपाध्यक्षमा अमृता गुरूङलाई उम्मेदवार बनाउने एमालेले जनाएको छ।

यसैगरि मायादेवी गाउँपालिकाको अध्यक्षमा लाला लोध र उपाध्यक्षमा सन्नु चाई, मर्चवारीमाई गाउँपालिकाको उपाध्यक्षमा कमलेस यादव र उपाध्यक्षमा बिन्द्रावती गौड, सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा मुस्लिम खान र उपाध्यक्षमा पिंकला लोध, तथा कोटहीमाई गाउँपालिकाको अध्यक्षमा श्यामसुन्दर यादव र उपाध्यक्षमा मायाँ साहनी उम्मेदवार बन्ने भएका हुन्।

131 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal