भक्तपुरमा मेलम्ची खानेपानीको सफल परिक्षण, खानेपानीको समस्या अन्त्य हुने विश्वास

काठमाडौँ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको भक्तपुरमा सफलतापूर्वक परिक्षण सम्पन्न भएको छ । एमालेले मेलम्ची खानेपानी आयोजनाको लागि गरेको विशेष योजना सफलता हासिल गर्दै परिक्षण सम्पन्न गरेको छ । एमाले विरुद्धमा कांग्रेस, माओवादी तथा नेपाल मजदुर किसान पार्टीले गरेको विभिन्न आरोप तथा गलत प्रचारलाई चिर्दै आज भक्तपुरमा मेलम्ची खानेपानी आयोजनाको सफल परिक्षण गरिएको हो । एमालेकै पहलमा मेलम्ची खानेपानी आयोजना भक्तपुरमा आएता पनि कांग्रेस माओवादी तथा नेमकिपा लगायतका दलहरुले एमालेको विरुद्धमा गलत प्रचार गरी एमालेले गरेको विकासको क्रेडित लिने प्रयास गरेको स्थानीयवासीको आक्रोस समेत रहेको थियो ।
एमालेको कामलाई क्रोडिट लिन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हिजो आफुले मेलम्ची खानेपानी आयोजनको उद्घाटन गरेको भनि केही सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण गराउनुभएको थियो। गठबन्धनका सत्तारुढ दल नेपाली कांग्रेस तथा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले मेलम्चीको खानेपानी आयोजनालाई भक्तपुरमा वितरण गर्ने विषयमा छुटाए पनि एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा काठमाडौँसँगै भक्तपुरमा पनि खानेपानी वितरण गर्ने कार्यलाई समावेश गरिएको थियो । सोही कार्य अनुरुप आज नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले संयुक्त रुपमा परिक्षणको शुभारम्भ गर्नुभएको हो ।
आयोजनाको पानी कटुञ्जे पाण्डूबजार खानेपानीको ट्याङ्कीबाट आज सूर्यविनायक नगरपालिका भित्र मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याई सकेका क्षेत्रहरु आदर्श, पाण्डूबजार, घलाते, चुनदेवी, सुबर्ण चोक, सल्लाघारीदेखी राधेराधे पुलसम्मका करिब २५ सय घरका धाराहरुमा सफलता पूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको छ । त्यस्तै भक्तपुर नगरपालिका क्षेत्रका करिव पाँच हजार धाराहरुमा समेत परिक्षणका लागि पानी वितरण गरिएको छ ।
सूर्यविनायक नगरपालिकाका कटुञ्जे, बालकोट, सिरुटारलगायतका क्षेत्रहरुमा मेलम्ची खानेपानीको डिपीआर अघिल्लो आर्थिक वर्षमै सम्पन्न भैसकेकाले तत्काल मेलम्ची खानेपानीको पाइपलाई विस्तार गरी साविक पुरानै खानेपानीका ट्याङकीहरुमा मेलम्चीको खानेपानी खसाली समग्र सूर्यविनायक भित्र रहेका खानेपानीको समस्या सधैंको लागि अन्त्य हुने दावी गरिएको छ । २० लाखको पुरानो ट्याङ्की र ६० लाखको नयाँ ट्याङ्की गरी ८० लाख लिटरको दुई वटा ट्याङ्की रहेको छ । उक्त दुवै ट्याङ्की करिव तीन घण्टामा भरिने आयोजनाका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिनुभयो । मेलम्चीको खानेपानीको सफलतापूर्वक परिक्षण सम्पन्न भएसँगै आगामी दिनमा भक्तपुर जिल्ला भरका सम्पूर्ण नागरिकले खानेपानीको समस्या अन्त्य हुने दावी गरिएको छ ।
जनताको माग अनुसार पानी वितरण गर्न सकिने आयोजना प्रमुख ऐरले बताउनुभयो ।मेलम्चीको खानेपानी भक्तपुरमा पहिलो चरणमा नै ल्याउन आफुले ठूलो संघर्ष गरी सफलता हासिल गरेको उल्लेख गर्दै सांसद बस्नेतले एमालेले गरेको कामलाई कांग्रेस तथा नेपाल मजदुर किसान पार्टीले जनतामा भ्रम छरिरहेको बताउनुभयो ।
आयोजनाको लागि जग्गा अधिकरण र पाईप विस्तारको लागि सम्पूणका कार्यहरु एमालेको नेतृत्वमा भएको भक्तपुरवासीलाई जानकारी गराउँदै उहाँले सूर्यविनायक नगरपालिका क्षेत्रमा निर्माण भएका खानेपानी ट्याङ्कीमा मेलम्चीको पानी वितरण गर्नुपर्नेमा जोड दिनुभयो । आयोजनाले पनि सूर्यविनायकवासीको उक्त मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै आवश्यक प्रकृयाको लागि सहयोग आयोजनालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।