सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अवलोकन गर्दै मेयर बालेन्द्र शाह

२०७९ जेष्ठ १४ गते, शनिबार

काठमडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमनमा पुग्नुभएको छ । सिसडोल र बन्चरेडाँडामा केही दिनदेखि फोहोर विसर्जन गर्न गएका गाडीलाई विभिन्न स्थानमा अवरोध भइरहेको छ ।विहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुग्नुभएको हो । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् ।

ती अवरोधहरु छिचोल्दै मेयर दुर्बै डम्पिङ साइटमा पुग्नुभएको हो । उहाँले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल पनि गर्नूभएको थियो । काठमाडौंमा करिब ३ महिनादेखि नियमित रुपमा फोहोर उठ्न सकेको छैन । स्थानीयबासीले पनि मेयर बालेनलाई सौहार्दतापूर्वाक आफ्ना मागहरु राखेका थिए ।गत मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास सुरु भएको थियो । धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका स्थानीयबासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा बिसर्जन गर्न नदिने अडान राख्दै आएका छन् ।उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरुको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रुपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ ।

शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन सुरु भएपछि स्थानीयबासी आन्दोलित भएका हुन् ।स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए । तर सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । फोहोर बोकेका गाडीहरु बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहे पनि स्थानीयबासीले आन्दोलन रोकेका छैनन् ।सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन कठीन भएको थियो । बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ ।

त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरु आउ–जाउ गर्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।स्थानीयबासीले फोहोरका गाडी फेरि रोक्न सक्ने अवस्था रहेकाले दीर्घकालीन रुपमै स्थानीयको माग सम्बोधन गरेर समाधान निकाल्नुपर्ने पक्षमा महानगरपालिका छ । स्थानीयबासी भने सडकको अवस्था समेत सुधार नगरी फोहोर फाल्न सुरु गर्नु अन्यापूर्ण भएको तर्क गरिरहेका छन् ।मेयर बालेनले स्थानीयको मागबारे थप छलफल गर्ने जवाफ दिएर फर्किनुभएको छ ।

382 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal