खराब ब्याटिङका कारण नेपाल ओमानसँग पराजित

२०७९ जेष्ठ २७ गते, शुक्रबार

एजेन्सी । तीव्र गतिका बलर करण केसी र मध्यक्रमका ब्याटर आरिफ शेखको उत्कृष्ट प्रदर्शनका बाबजुद नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भएको छ ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो । नेपालका आरिफ शेखले ७९ बलमा ६ चौका ६६ सर्वाधिक रनको योगदान दिए । आरिफको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा १४ रन चाहिँएको थियो । पहिलो बल बिलाल खानले आरिफलाई डट राखे । दोस्रो फुलटस योर्करमा डट राखेपछि नेपालको जित टाढिएको थियो । तेस्रो बल डट र चौथो बलमा एलबीडब्लू आउट भए ।
तीव्र गतिका बलर बिलाल खानले तेस्रो ओभरको दोस्रो बलमा ओपनर सुवास खकुरेललाई ३ रनमा बोल्ड गरे ।

२०२० पछि टोलीमा फर्किएका सुवासले राम्रो इनिङ खेल्न सकेनन् । त्यस्तै पाँच वर्षपछि सिनियर टोलीमा फर्किदै ओडिआईमा डेब्यू खेल खेलेका सुनिल धमला ३८ बलमा १२ रन बनाउँदै जिशान मकसुदको बलमा बोल्ड भए । उपकप्तान तथा प्रमुख ब्याटर रोहित पौडेल जिशान मकसुदको १९ औं ओभरको पहिलो बलमा खवर अलीबाट २० रनमा क्याच भएपछि नेपाल दबाबमा परेको थियो ।

रोहितले १७ बलमा ३ चौका प्रहार गरे । युवा ब्याटर देव खनाललाई खवर अलीले ३४ रनमा बोल्ड आउट गरे । देवले ५३ बलमा ५ चौका प्रहार गरे । नेपालका प्रमुख हतियार दीपेन्द्रसिंह ऐरी अयान खानको बलमा जिशानबाट १६ रनमा क्याच भएपछि नेपालले संघर्ष गरेको छ । दीपेन्द्रले ३० बलमा एक चौका प्रहार गरे । छैटौं विकेटका लागि विनोद र आरिफले ३७ रनको साझेदारी गरे ।

मकसुदको बलमा रिभर स्वीप खेल्ने धुनमा मिस हुँदा विनोद भण्डारी ४६ बलमा १४ रन बनाउँदै एलबीडब्लू आउट भए । नेपालका विष्फोटक ब्याटर करण केसी ८ रनमा क्याच आउट भएसँगै नेपालको जित कठिन बनेको थियो । सोमपाल कामी १३ रनमा आउट भए ।

ओमानका कप्तान जिशान मकसुदले शतकसँगै बलिङमा १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । खवर अलीले ८ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । अयान खानले ९ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । बिलाल खानले ८.४ ओभरमा एक मेडनसहित ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको शतकीय इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफल निर्माण गरेका थिए ।

नेपाललाई तीव्र गतिका बलर करण केसीले ओपनर कश्याप प्रजापतिलाई इनिङको पहिलो बलमै एलबीडब्लू आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । करणले नै ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई सातौं ओभरको दोस्रो बलमा ११ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई सानदार सुरुवात दिलाए ।

त्यसपछि स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिँदै थप दबाबमा राखे । सन्दीपले शोएब खानलाई विनोद भण्डारीबाट २७ रनमा क्याच गराए । खानले ४९ बलमा ४ चौका प्रहार गरे । सन्दीपले मोहम्मद नदीमलाई एक रनमा बोल्ड गर्दा ओमान १६.२ ओभरमा ५५–४ को कमजोर अवस्थामा पुगेको थियो ।

करणले २५ औं ओभरको दोस्रो बलमा अयान खानलाई ८ रनमा सोमपाल कामीबाट क्याच गराउँदै ओमानलाई ८६–५ को अवस्थामा पुर्याएका थिए । छैटौं विकेटका लागि जिशान मकसुद र खवर अलीले ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

अली ६२ बलमा ३ चौकासहित ३० रनमा आउट भए । सुरज कुमार १४ बलमा १२ रनमा आउट भए । करणले फैज बटलाई नौ रनमा बोल्डका साथ ब्यक्तिगत पाँच विकेट पूरा गरे ।

नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । नेपालका करण केसीले पाँच विकेट लिए । उनी ओडिआईमा पाँच विकेट लिने सोमपाल कामी र सन्दीप लामिछानेपछि तेस्रो खेलाडी हुन् । करण नेपालबाट ओडिआई र टि२० आई दुबैमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।

सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए ।

अमेरिकामा नेपालको आगामी खेल तालिका –

जेठ २८ (जुन ११) – अमेरिकाविरुद्ध नेपाल

जेठ ३१ (जुन १४) – नेपालविरुद्ध ओमान

असार १ (जुन १५) – अमेरिकाविरुद्ध नेपाल

206 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal