विद्युत प्रसारण लाइनमा चढेका पुरुषको ९ घण्टापछि हेलिकप्टरबाट उद्धार

२०७९ जेष्ठ २८ गते, शनिबार

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशुली ‘थ्रि ए’ को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। बिहान १० बजेदेखि प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला बिकको साँझ सेनाको उद्दार टोलीले हेलिकप्टरबाट उद्धार गरेको हो ।

मानसिक रूपमा अस्वस्थ रहेका बिक शनिबार बिहानै परिवारसँग झगडा गरेर प्रशारण लाइनमा चढेका थिए । उनलाई तारबाट झार्न स्थानीय वासिन्दा र नेपाल प्रहरीले प्रयास गरेपनि सकेनन् ।

माथिल्लो त्रिशुली ‘थ्री ए’ र केही साना जलविद्युत आयोजनाको उत्पादनसमेत बन्द भयो । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्धार गर्न निर्देशन दिइन् । त्यसपछि सेनाको उद्दार टोली लिएर हेलिकप्टर ककनीतर्फ उडेको थियो। अन्ततः सेनाको उद्दार टोलीले सकुशल उद्दार गरेर प्रहरीको जिम्मा लगाइएको छ ।

आज बिहानदेखि सो प्रशारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ । उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव देशभर परेको छ । माथिल्लो त्रिशुली ‘थ्री ए’ लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नुपर्यो । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएपछि भारतबाट पनि बिजुली ल्याएर माग धानिएको छ ।

167 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal