जिरुडको ह्याट्रिकमा मिलानको सानदार जित

२०८० जेष्ठ ७ गते, आईतवार

एजेन्सी । फ्रान्सेली भेट्रान फरवार्ड ओलिभर जिरुडको ह्याट्रिक सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा सानदार जित दर्ता गरेको छ ।

मिलानले घरेलु मैदानमा रेलिगेसनमा परिसकेको साम्पडोरियामाथि ५–१ को सानदार जित दर्ता गरेको हो । मिलानको जितमा जिरुडले ह्याट्रिक पूरा गर्दा राफयल लियो र ब्राहिम डियाजले समान एक गोल गरे । साम्पडोरियाका फावियो क्वाग्लिएलेराले एक गोल फर्काए ।

मिलानोमा शनिबार राति भएको खेलको नवौं मिनेटमा राफयल लियोको गोलबाट मिलानले सुरुवाती अग्रता लिन सफल भयो । उनले ब्राहिम डियाजको पासमा गोल गर्न सफल भए ।

२०औं मिनेटमा फावियो क्वाग्लिएलेराले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २३औं मिनेटमा ब्राहिम डियाजको पासमा जिरुडले गोल गर्दै मिलानलाई खेलमा २–१ ले अघि बढाए ।

२९औं मिनेटमा जिरुडले पेनाल्टीमा गोल गर्दै मिलानलाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । ६३औं मिनेटमा ब्राहिम डियाजले सान्द्रो टोनालीको पासमा गोल गरेपछि मिलान फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि ६८औं मिनेटमा जिरुडले ह्याट्रिक पूरा गर्दै मिलानलाई ५–१ को सानदार जित दिलाए ।

यस जितसँगै मिलान ३६ खेलबाट ६४ अंक जोडेर पाँचौं स्थानमा छ । पराजित साम्पडोरिया ३६ खेलबाट १८ अंक जोडेर पुछारमा छ ।

48 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal