बायर्नको लज्जास्पद हार

२०८० जेष्ठ ७ गते, आईतवार

एजेन्सी । सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि होडमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा लज्जास्पद हार बेहोरेको छ ।

बायर्न घरेलु मैदानमा आरबी लाइप्जिगसँग ३–१ ले पराजित भएको हो । लाइप्जिगको जितमा कोनरड लेइमर, क्रिस्टोफोर एनकुन्कु र डोमिनिक जोबोस्लाईले गोल गरे । बायर्नका सर्ज नाब्रीको गोल सान्त्वना बन्यो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको २५औं मिनेटमा सर्ज नाब्रीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । तर, त्यो अग्रतालाई बायर्नले दोस्रो हाफमा जोगाउन सकेन ।

६५औं मिनेटमा कोनरड लेइमरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७६औं मिनेटमा क्रिस्टोफोर एनकुन्कुले पेनाल्टीमा गोल गरेपछि बायर्न खेलमा २–१ ले पछि पर्यो । त्यसको १० मिनेटपछि डोमिनिक जोबोस्लाईले पेनाल्टीमै गोल गर्दै बायर्नलाई हार चखाए ।

यस हारसँगै बायर्नको उपाधि यात्रामा धक्का लागेको छ । बायर्नले शीर्षस्थानमा ४ अंकको अग्रता लिने अवसर गुमाएको छ । शीर्षस्थानमा रहेको बायर्नको ३३ खेलबाट ६८ अंक पुगेको छ ।

अब दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले आफ्नो खेलमा जित निकालेमा शीर्षस्थानमा उक्लदै बायर्नलाई २ अंकले पछि पार्नेछ । अब बायर्नलाई च्याम्पियन बन्न आफ्नो खेलमा जित निकाल्नुका साथै डर्टमुन्डले अंक गुमाउनु पर्नेछ ।

अन्तिम खेलमा डर्टमुन्ड र बायर्न दुवैले जित निकालेमा डर्टमुन्ड च्याम्पियन बन्ने छ । बायर्नलाई हराएको आरबी लाइप्जिग ३३ खेलबाट ६३ अंक जोडेर तेस्रो स्थानमा छ ।

43 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal