विज्ञानको पाठ्यक्रममा आईसीटी विषय अनिवार्य, शिक्षक भन्छन्ः ‘पढाउन गाह्रो भयो’
काठमाडौं । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्दै सरकारले विज्ञान तथा प्रविधि विषयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को अध्ययन अनिवार्य गर्यो । योसँगै विज्ञान विषयका शिक्षकले समेत कम्प्युटर पढाउनुपर्ने बाध्यता आइलाग्यो ।
तर यसले आफूहरूलाई अप्ठ्यारोमा पारेको भन्दै कतिपय सम्बन्धित शिक्षकहरूले गुनासो गर्ने गरेका छन् । यता सरकारी अधिकारीहरू भने यो समस्याको विषय नभएको जिकिर गर्छन् ।
पाठ्यक्रममा आईसीटी समेटिए पनि भौतिक पूर्वाधारको अभाव, दक्ष जनशक्तिको कमी, नयाँ विषय अध्यापन गराउनुपर्ने बाध्यता आदिले त्यसको प्रभाव परिणाममुखी नहुने शंका भइरहँदा विज्ञान शिक्षकका गुनासोले अझ यसमा मलजल गरिरहेको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारूपको कार्यान्वयनसँगै ६ देखि ८ कक्षासम्म भएको अनिवार्य कम्प्युटर विषय हट्यो । हुन त त्यसबेला पनि सरकारले कम्प्युटर विषयका लागि दरबन्दी दिएको थिएन । सक्ने विद्यालयले निजी स्रोतमा शिक्षक राखिरहेका थिए ।
अहिले भने ४ देखि १० कक्षासम्म नै विज्ञान तथा प्रविधि विषयमा आईसीटी (सूचना सञ्चार प्रविधि) अध्यापन गराइन्छ । जसमध्ये ४ देखि १० कक्षामा ३० घण्टा सिकाउने गरी र कक्षा ९ र १० मा कार्यघण्टा १४ हुने गरी आईसीटी एकाई राखिएको छ ।
तर विज्ञान विषयमा कम्प्युटर गाभ्ने कुरा चल्दै गर्दा नै केही शिक्षकले त्यस कुराको विरोध गरेका थिए । तर प्रविधिको समय भएको, आधारभूत सीप भएको, सानै उमेरमा सिके अवसर पाइने जस्ता कुरा आएपछि शिक्षकहरू सो कुरामा सहमत भएका थिए । त्यसको अनुभव सुनाउँदै विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय सचिव मनोज आचार्य भन्छन्, “हामी त्यसबेला पाठ्यक्रम विकास केन्द्र गएका थियौं । विज्ञान विषयमा २० प्रतिशत जति प्रविधिको विषयवस्तु राख्ने कुरा भएको थियो । हामी सहमत भएका थियौँ ।”
तर अहिले त्यो निर्णय आफैंलाई भारी भएको उनी सुनाउँछन् । विज्ञान विषयमा कम्प्युटरको परिचय, माइक्रोसफ्ट अफिस, मल्टिमिडियाको प्रयोग, साइबर सेक्युरिटी, एआई, क्लाउड कम्प्युटिङ जस्ता आईसीटीका विषयवस्तु राखिएको छ । विज्ञान शिक्षकले कम्प्युटर पढाउन थालेपछि टाउको दुस्खाइको विषय भएको उनी बताउँछन् ।
“यस व्यवस्थाले धेरै शिक्षकलाई ‘मर कि त बाँच’को अवस्थामा पुर्याएको छ । पुराना शिक्षकले त कम्प्युटर पनि चलाउन सिक्नुभएको हुँदैन । उहाँहरूलाई धेरै गाह्रो भएको छ,” उनी भन्छन्, “नयाँ शिक्षकहरूले कम्प्युटर चलाउन त जान्नुहुन्छ । तर कक्षा छिर्नुअघि गृहकार्य गर्नुपर्ने हुन्छ । युवा शिक्षकको तुलनामा पुराना शिक्षकले अझ बढी मेहनेत गर्नुपर्ने हुन्छ ।”
तर पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारी भने विज्ञान शिक्षकले पढाउन सक्ने गरी आईसीटीका विषयवस्तु राखिएको बताउँछन् । उनका अनुसार विद्यालय तहमा आधारभूत कम्प्युटर मात्र पढाइ हुन्छ । त्यस्तै अहिलेको समयमा आईसीटी नचलाउने शिक्षक हुँदैनन् । यसैले विज्ञान शिक्षकले एक हप्तामा मात्र समय निकालेर सिक्दा आईसीटीको पाठ्यक्रम बुझ्न सक्छन् ।
“प्रविधिसँग प्रत्यक्ष जोडिने विषय विज्ञान हो । त्यही हिसाबले अन्य विषय शिक्षक भन्दा विज्ञान विषयका शिक्षकले सक्छन् भनेर यसमा कम्प्युटर गाभिएको हो,” उनी भन्छन् ।
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार हाल देशभर ३४ हजार ३६८ विद्यालय छन् । तर मुलुकभर सञ्चालित २६ हजार ४५४ सामुदायिक विद्यालयमध्ये १३ हजार ५५९ अर्थात् ५१.३ प्रतिशत विद्यालयमा मात्र कम्प्युटर सुविधा पुगेको सर्वेक्षणमा उल्लेख छ ।
त्यस्तै विद्यालय क्षेत्र विकास कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तीन हजार १९३ माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आईसीटी ल्याब० स्थापना तथा स्तरोन्नति गरिएको छ । तर यी तथ्याङ्कले देशमा अझै पनि कम्प्युटर ल्याब र जनशक्ति अभाव भएको देखाउँछ । यस्तो अवस्थामा विद्यार्थीले कस्तो आईसीटी शिक्षा पाउँछन् भन्ने प्रश्न महत्त्वपूर्ण रहेको छ ।
त्यस्तै विज्ञानका शिक्षकहरूले बिना तालिम आईसीटी अध्यापन गर्दा गाह्रो भएको गुनासो गरेका छन् ।
नेपालमा शिक्षकलाई टिचर्स प्रोफेसनल डेभलपमेन्ट (टीपीडी) जस्ता तालिम दिने गरिन्छ । तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकारी गोविन्दराज पौडेल आईसीटी पढाउने शिक्षकका लागि पहिले तालिम दिइने गरेता पनि अहिले कुनै तालिम नभएको सुनाउँछन् । ‘हुन त डिजिटल साक्षरतासम्बन्धी तालिम छ शिक्षकले पाउँछन्, तर त्यतिले आईसीटीलाई अध्यापन पर्याप्त हुँदैन,ु’ उनी भन्छन् ।
यता विज्ञान शिक्षक समाजका आचार्य भने आईसीटी अध्यापन गराउन शिक्षकलाई दिइने तालिम कर्मकाण्डी मात्र हुने धारणा राख्छन् । उनी यो समस्याको समाधान स्वरूप योजनाबद्ध तरिकाले पाठ्यक्रम परिवर्तन गरेर शिक्षकलाई अनिवार्य तालिम दिनुपर्नेमा जोड दिन्छन् ।
तर शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइराला भने यसबारे अलि फरक मत राख्छन् । उनको मतअनुसार विज्ञान विषयमा गाभिएको आईसीटी सिक्न स्वयं शिक्षक अग्रसर हुनुपर्ने हुन्छ । कम्प्युटर आफैंमा विज्ञान भएकाले त्यसलाई सिक्न शिक्षक आफैं लाग्नुपर्नेमा उनको जोड छ । साथै नयाँ विषय हो, सरकारले तालिम दिए मात्र पढाउँछु भनेर शिक्षक बस्न नहुने उनी तर्क गर्छन् । त्यो कुराले विद्यार्थीको भविष्य मात्र बर्बाद हुने उनको बुझाइ छ ।
यसरी सरकारले पाठ्यक्रम बनाउने, तर दरबन्दी नदिने कुराले समस्या आएको देखिन्छ । यसैले कतिपय विज्ञान शिक्षकले आफूले पढाउने जागिर गयो भन्ने गरेका छन् । तर विद्यालयले ९ र १० कक्षामा ऐच्छिक कम्प्युटर पढाएका छन् भने शिक्षकहरूले सहकार्य गर्नसक्ने पाठ्यक्रम विकास केन्द्रका अधिकारी सुझाउँछन् । त्यो समाधानको एउटा मात्र उपाय भएको उनी बताउँछन् ।
शिक्षाविद् प्रा।डा। कोइराला भने शिक्षकलाई अध्यापनमा साँच्चिकैको गाह्रो भए महासंघहरूले किन यसबारे बोल्दैछन् भनेर प्रतिप्रश्न गर्छन् । तर त्यसो होइन भने निहुँ खोज्न नहुने उनको तर्क छ । यदि वास्तविक समस्या छ भने यसले विद्यार्थीलाई गम्भीर समस्या पार्ने उनी चेतावनी दिन्छन् ।
“समस्या छ भने शिक्षकले अवधारणा बुझ्दैनन् । अवधारणा नबुझेपछि विद्यार्थीलाई घोकाउँछन्,” उनी भन्छन्, “यसको परिणाम स्वरूप चिन्तन गर्ने विद्यार्थीको संख्या कम हुन्छ । विज्ञान नबुझ्ने विद्यार्थी बढी हुन्छन् ।”