काठमाडौं महानगरका सामुदायिक विद्यालयमा हरेक कक्षा कोठामा डिजिटल बोर्ड राखिने

२०८० जेष्ठ ८ गते, सोमबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष (आव) २०८०/०८१ मा आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा डिजिटल बोर्ड राख्ने भएको छ । विद्यालयको प्रत्येक कक्षामा एउटा डिजिटल बोर्ड राख्ने गरी महानगरपालिकाले यस्तो तयारी थालेको हो ।

महानगरपालिकाले आगामी आवको नीति, कार्यक्रम तथा बजेटमा यो कुरा समावेश गर्न गृहकार्य गरिरहेको मेयर बालेन्द्र शाह का सचिवालय प्रमुख नुरनीधि न्यौपानेले जानकारी दिए । यो कामको लागि धेरै खर्च हुने भएकाले सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले बताए ।

“हरेक विद्यालयमा १० ओटा डिजिटल बोर्ड वितरण गर्दा पनि एक हजार बोर्ड चाहिन्छ,” उनले भने, “एउटा बोर्डलाई करिब चार लाख रुपैयाँ पर्छ । हामीले यही अनुरूप सङ्घीय सरकारसँग बजेट माग गरेका हौं ।”

सामुदायिक विद्यालय सङ्घीय सरकारको समेत भएकाले डिजिटल बोर्डका लागि बजेट छुट्याइने कुरामा आफूहरू विश्वस्त भएको उनले जनाए । यदि सरकारले यसका लागि बजेट नदिए महानगरपालिका आफैंले आन्तरिक स्रोतबाट यो काम गर्ने पनि उनले उल्लेख गरे ।

त्यस्तै उनका अनुसार सरकारले यसमा बजेट छुट्याएको खण्डमा महानगरपालिकाले विद्यालयमा आवश्यक पर्ने प्रविधिका अन्य स्रोत जुटाउने छ ।

हाल महानगर भित्र ९३ ओटा सामुदायिक विद्यालय छन् । ती मध्ये कतिपय विद्यालयहरूमा एउटै कक्षामा धेरै सेक्सन हुने भएकाले सबै कक्षामा डिजिटल बोर्ड राख्न आफूहरू लागि परेको उनको भनाई छ । साथै यो कामले शैक्षिक गुणस्तर उकास्न भूमिका खेल्ने समेत महानगरको विश्वास छ ।

64 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal