बालबालिकामा हुने रोगको मुख्य कारण कुपोषण

२०८० जेष्ठ ९ गते, मंगलवार

काठमाडौँ । ‘खानेकुरा नभएर भन्दा पनि खाना नजानेर नेपालमा कुपोषणको समस्या छ’
पछिल्लो समय बालबालिकामा धेरै प्रकारका समस्या देखा परेका छन्। नेपालमा अहिले पनि कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहेको छ। गर्भावस्थामा पोषणयुक्त खानाको अभाव, बालविवाहका साथै सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपान नगराउने जस्ता कारणले कुपोषित बालबालिकाको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ। कुपोषण भएका बालबालिकाको अपेक्षित रूपमा शारीरिक, बौद्धिक तथा संवेगात्मक विकास हुन सक्दैन। उचित खानपान र व्यवहारमा ध्यान दिन सकिएन भने कुपोषण एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुने चिकित्सक बताउँछन्। कम तौल र कम उचाई भएका महिलाले सानो र कम तौल भएका बच्चा जन्माउँछन्। कुपोषण भनेको के हो ? के कारणले हुन्छ ? समाधान अर्थात बच्ने उपायहरु के के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्टसँग गरिएको कुराकानीको सम्पादित अंश ः

कुपोषण भनेको के हो ?
हाम्रो शरीरलाई आवस्यक पर्ने सन्तुलित आहार लामो समयसम्म उपलब्ध नहँुदा समस्या स्वरुप सिर्जना हुने अवस्थालाई कुपोषण भनिन्छ। नेपालमा बालबालिकालाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो। जसका कारण नेपाली बालबालिकाको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ। विशेषगरी दुई वर्षमुनिका बालबालिकामा बढी मात्रामा कुपोषण हुने गरेको पाइन्छ। कुपोषण हाम्रो खानपान र जीवनशैलीसँग सबन्धित छन्। खानपान सम्बन्धी समस्यालाई हामीले तीन वटा समूहमा बाँडेका छौं। बच्चामा हुने कुपोषण, अधिक मोटोपन र सूक्ष्म तत्त्वको कमी जस्ता समस्या देखिने गरेका छन्। जसले गर्दा बालबालिकामा कुपोषण लगायतका समस्या देखापरेका छन्।

कुपोषण के कारणले हुन्छ ?
सामान्यतया कुपोषण खानाको कमीको कारणले हुनेगर्छ। तर, हाम्रो देशमा चाहिँ खाना नभएको कारण समस्या भएको पाइदैन। खाना धेरै छ तर त्यो भएको खानालाई आवश्यक तत्त्व मिलाएर खान नजानेर कुपोषण हुने गरेको छ। बालबालिकालाई दैनिक रुपमा खुवाइने खानामा प्रर्याप्तमात्रामा पोषक तत्वको कमीको कारण कुपोषण हुने गरेको छ। बालबािलकामा अन्य रोग लागेको र समयमा उपचार नभएको कारणले पनि यो समस्या देखापर्छ। पोषण सम्बन्धी ज्ञानको कमी भएको कारणले नेपालमा यो समस्या बढेको छ। कुपोषण भनेको नै हाम्रो शरीरमा पोषक तत्त्वको आवश्यकता र हाम्रो आहाराबीचको असन्तुलन हो ।

कुपोषणले बालबालिकामा के कस्तो असर गर्छ ?
कतिपय बालबालिकामा दीर्घ रोगका कारणले पनि तौल नबढ्ने हुन्छ। आवश्यक मात्रामा खाना मिलाउन नसक्दा पनि बालबालिका कुपोषणको सिकार बनेका छन्। कुपोषणले बालबालिकाको शारीरिक स्वास्थ्य मात्र नभई मानसिक क्षमतालाई समेत प्रभावित गर्छ । यसले गर्दा बालबालिकाले भविष्यमा पाउन सक्ने उचाई पाइरहेका हुँदैनन् । कुपोषणको कारण बालबालिकामा रोगसँग लड्ने क्षमतामा कम हुन्छ। साथै शारीरिक तथा मानसिक विकाशमा समेत बाधा पुगेर बालबालिकाको अकालमा मृत्यु हुनेसम्मको खतरा हुनसक्छ।

हाम्रा बालबालिकालाई कुपोषण जोगाउन के गर्ने ?
बच्चा जन्मेपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ। राम्रोसँग आमाको दूध खुवाउन सक्यो र आमाले चिन्ता लिएन भने आमाको दूधले छ महिनासम्म नै पुग्छ। पाँच महिनापछि पोषिलो आहार खुवाउनुपर्ने हुन्छ। बच्चालाई पोषिलो आहार खुवाउन सकिएन भने त्यो उमेरमा कुपोषण हुने सम्भावना हुन्छ। बालबालिकाको खानामा विशेष ध्यान दिनुपर्छ। राम्ररी पकाएर खुवाइएन भने झाडापखालासँगै अन्य समस्या आउन सक्छन्। जसले गर्दा कुपोषण हुनसक्ने चान्स धेरै हुन्छ। खाना धेरै खुवाएर कुपोषण हुने भन्ने हुँदैन। बच्चामा दीर्घरोगको समस्या छ वा अन्य समस्या छ भने कुपोषण हुने हो। अहिलेको समयमा धेरै आमा आफ्नै काममा व्यस्त हुने, बच्चालाई दूध खुवाउन गाह्रो भयो भने यस्तो अवस्थामा आमाको दूध सफा भाँडामा पुन मनतातो बनाएर खुवाउन सकिन्छ। आमाको दुधको साटोमा अर्को दूध दिन सकिन्छ। तापक्रम मिलाएर खुवाउँदा सफा पानी प्रयोग गर्नुपर्छ। भाँडा सफा भएन, राम्ररी दूध उमालेर खुवाइएन भने रोग फैलिएर कुपोषण हुनेगर्छ। त्यसैले बालबालिकालाई दूध खुवाउदा पनि धेरै ध्यान दिनुपर्छ।

बालबालिकालाई खुवाउनु पर्ने खाना के के हुन् ?
सानो बच्चालाई आमाको दूध भन्दा पोषिलो अरु केही हुँदैन। सबै बालबालिकालाई ६ महिनासम्म आमाको दूध र त्यसपछि घरमै दालभात, लिटो, जाउलो बनाएर खुवाउनु राम्रो हुन्छ। एक वर्षको बच्चालाई आमाको दूधसँगै दिनमा दुई पटक कम्पिलीमेन्ट्री फुड खुवाउनुपर्छ। एक वर्ष भन्दा माथिको बच्चालाई दिनमा तीन पटक कम्पिलीमेन्ट्री फुड खुवाउनुपर्छ। साधरणतया यो भन्दा बढी उमेरका बच्चालाई दिनमा पाँच पटकसम्म खुवाउन सकिन्छ। यसरी खुवाउँदा घरमा नै बनेको या घरमा नै उत्पादन गरिएको खानामा जोड दिनुपर्छ।

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने त ?
सबै भन्दा बढी ध्यान दिनुपर्ने कुरामा खाना नै आवश्यक छ। जसमा शक्ति प्रदान गर्ने खानेकुरा खुवाउने, शरीरका तन्तु जस्तै ः हाड, मांसपेशी, स्नायु, रगत, छाला आदिको वृद्धि तथा यिनीको कार्य विकासको लागि प्रोटिनको आवश्यक पर्दछ। दाल, गेडागुडी, कोदो, अण्डा, माछा, मासु, दूध तथा यसबाट बनेको पदार्थमा प्रोटिन बढी पाइन्छ। भिटामिन तथा खनिज पदार्थ युक्त खाना खाने र प्रशस्त मात्रामा पानीसेवन गराउने गर्नुपर्छ। बाहिरका खाना भन्दा घरका खाना धेरै खुवाउने गर्नुपर्छ।

35 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal