वाणगंगाको एक नीजि विद्यालयको शुल्कमा विद्यूतको शुल्क पनि समावेश

२०८० आश्विन २४ गते, बुधबार

कपिलवस्तु । कपिलवस्तुको एक नीजि विद्यालयले जथाभावी शुल्क उठाएर अभिभावकको ढाड सेक्न गरेको पाइएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ५ स्थित अन्नपूर्ण विद्यामन्दिर कोपवाले मनोमानी शुल्क असुल्ने गरेको बिलमा विद्यूतको समेत शुल्क समावेश भएको देखिन्छ ।

युकेजीमा अध्ययनरत विद्यार्थीको विलमा मासिक शुल्कमा विद्यूत शुल्क दुई सय समावेश छ । यस्तै अन्य कक्षाका विद्यार्थीको शुल्कमा पनि विद्यूत शुल्क समावेश गरेको अभिभावकले गुनासो गरेका छन् । एक जना अभिभावकले भने, ‘बोर्डिङ स्कुलमा यसरी विद्यूत र पेन्सिलको फिस लिने चलन कहिलेदेखि सुरु भएको रहेछ रु हामीले कुनकुन शीर्षकमा पैसा तिर्ने रु के अब स्कुलको विद्यूत खर्च अब हामीले छुट्टै तिरिदिनु पर्ने हो ? यो त अति भएन र ?’

उनका अनुसार उक्त शीर्षकमा चित्त नबुझेपछि फिस नतिर्दा विद्यार्थीलाई नै परीक्षा दिनबाट बञ्चित गरिएको छ ।

यस विषयमा प्रिन्सिपल मदन मल्लले आफू जवाफदेहि नरहेको बताए । आफू २०७८ असारदेखि हाजिर भएको बताउँदै उनले विद्यालयका प्रबन्ध निर्देशक र लेखा शाखाले यसको जवाफ दिने बताए । उनले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर, पठनपाठन सबैको विषयमा म जवाफदेही हुन्छु । तर आर्थिक र अरु ब्यवस्थापनबारे प्रबन्ध निर्देशक र लेखा शाखा जिम्मेवार छ । मलाई केहि पनि थाहा छैन । यो विषयमा अभिभावकबाट गुनासो आएको छ, मिनाहा गर्नुपर्छ कि भनेर छलफल पनि भइरहेको छ ।’

मुलकभरको अर्थतन्त्रमा संकुचन आउँदा अभिभावक पनि त्यसको मारमा रहेको भन्दै सहुलियत दिने बेलामा बिभिन्न शीर्षक थपेर शुल्क असुल्नु राम्रो नभएको अभिभावकको भनाई छ ।

पेन्सिलको सवालमा भने फिस लिनु परेको कारण उनले बताए । ‘सानो कक्षामा हामीले घरबाट पेन्सिल ल्याउन नपर्ने गराएका छौँ । अभिभावकलाई पनि यो जानकारी गराएका छौँ । साना विद्यार्थीले घरबाट पेन्सिल ल्याउँदैनन् । यसकारण पेन्सिल फिसमा अचम्म मान्नु र विद्यालयले नराम्रो गर्यो भन्न मिल्दैन तर विद्यूतको फिसमा के कसो भएको हो आर्थिक प्रशासनलाई थाहा होला’, उनले प्रष्ट्याए।

यता विद्यालय संचालकले भने अभिभावकको गुनासोको आधारमा पेन्सिलको शुल्क लिएको बताउँछन् । विद्यालका प्रिन्सिपलहरुले साना बच्चाले पेन्सिल, इरेजर, टोक्ने, फाल्ने, नाश गर्ने र मासिक धेरै खर्च हुने गरेका कारण गार्जेनकै सहमतिमा गरिएको बताउँछन् ।

44 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal