बाणगङ्गाको कार्यपालिकाको बैठक सम्पन्न

२०८० आश्विन २४ गते, बुधबार

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा नगरपालिका नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरपालिकाको सभाहल जितपुरमा भएको बैठकले आर्थिक वर्ष २०८०/८१ को लागी वार्षिक कार्य योजना पारित गरेको छ । २८ वटा बुँदामा रहेको वार्षिक कार्य योजना कार्यपालिका बैठकले पारित गरेको हो । बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले वार्षिक कार्ययोजना पारित भएसँगै नगरपालिकामा विकासका कामले तिव्रता पाउने बताए । प्रमुख अर्यालले भने “कार्ययोजना अनुसार तोकेकै समयमा योजनाहरू सक्ने उद्देश्यका साथ काममा लाग्न वडाध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखलाई निर्देशन दिएको छु ।”

त्यस्तै कार्यपालिका बैठकले समृद्धिका लागी बन परियोजनाको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत समेत गरेको छ । यसैबीच घरनक्सा अभिलेखी करणका लागी चैत्र मसान्तसम्म सुचारु राख्ने निर्णय भएको नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले बताइन ।

छाडा चौपाया व्यवस्थापनका लागी नगर प्रवक्ता पौडेलको संयोजकत्वमा ९ सदस्य समिति गठन गरिएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले नगर प्रवक्ता विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्य छाडा चौपाया व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यहरूमा जनप्रतिनिधि बाट बाणगङ्गा वडा न। ६ का वडा अध्यक्ष करुण टण्डन, वडा न। ८ का वडा अध्यक्ष बाबुराम अर्याल र वडा न. ९ का वडा अध्यक्ष कमल प्रसाद पौडेल रहेका छन् । कार्यपालिका सदस्यबाट पिताम्बर सुनार र पार्वती सुनार रहेका छन् ।

त्यस्तै कर्मचारीबाट प्रशासन शाखा प्रमुख केशब भट्टराई सदस्य सचिव रहने गरी पशु विकास शाखा प्रमुख राजकुमार तिवारी, आर्थिक प्रशासन शाखा प्रमुख रहने गरी समिति गठन गरिएको हो ।

यो समितिले छाडा चौपाया व्यवस्थापन काम गर्ने जनाईएको छ । यसअघि छाडा चौपाया व्यवस्थापनका लागि नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले यसै आर्थिक वर्ष भित्र अल्पकालीन तथा दीर्घकालीन समाधान गरिने बताएका थिए । नगरवासीका मुख्य समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापन जसरी पनि गरिने छ, उनले भनेका छन् ।

तिन पाङग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागी वडाध्यक्ष रेश्मीको संयोजकत्वमा ७ सदस्य समिति

नगरपालिकाले वडा न. ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा ७ सदस्य तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यमा जनप्रतिनिधिका तर्फबाट वडा न. १ का वडा अध्यक्ष सन्जु सारू मगर, वडा न. ८ का वडा वडा सदस्य शारदा परियार रहेका छन् ।

यस्तै कर्मचारीको तर्फबाट सदस्य सचिव रहने गरि राजस्व शाखा प्रमुख मदन घिमिरे, वाणगङ्गामा रहेका ई रिक्सा समितिका दुईजना सदस्य तथा ट्राफिक एकजना रहेका छन् ।

संयोजक रेश्मीले तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनमा समितिले भोलि देखिनै कामको थालनी गर्ने बताए । उनले भने “अटो तथा इ– रिक्साको पार्किङ व्यवस्थापन गर्ने, यात्रुहरू ठगिनबाट जोगाउन सचेतना गर्ने, दुर्घटना न्यूनिकरणमा समेत यो समितिले काम गर्ने छ ।”

सर्पले डसेर एकै घरका दुई दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई नगरको राहत

बाणगङ्गाको वडा न. ९ मा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई नगरपालिकाले राहत प्रदान गर्ने भएको छ । नगरे राहत स्वरुप उनीहरूको परिवारलाई रु ३५ हजार प्रदान गर्ने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

वडा नम्बर ९ को भलवाड जिनुवा स्थित मोतिलाल क्षेत्रीका छोरीहरू ३ वर्षीय रीतिका क्षेत्री र ८ वर्षीय इशिका क्षेत्रीलाई असोज १६ गते राति सर्पले डसेको हो । उनीहरु दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बाणगङ्गाको विकासमा सबै एकजुट भएर लाग्न आग्रह समेत गरेका छन । नगरको विकासका लागी कर्मचारीको क्षेत्रबाट पूर्ण रुपमा सहयोग र साथ दिने प्रतिबद्धता जनाउँदै सबै मिलेर नगर विकासमा केन्द्रित हुनुपर्ने बताए । बैठक नगर प्रमुख अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

34 Views

2021 Copyrights Reserved at buddhabatikaonlin.com

Designed & Developed By Web House Nepal